नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बाग्लुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए। हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको उनले बताए।
केही दिन अगाडिदेखि सामान्य वर्षा भएको र अहिले निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उनले बताए। आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिए पनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ।
‘चैत्र महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, यसपालि गर्मी बढ्न लाग्दा हिउँ पर्यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयो,’ विकले भने, ‘अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकीनै कष्टकर बनाइ दियो ।’
रातिदेखि परेको भमरी हिमपातका कारण अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उनले बताए।
