आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। पेट्रोलियम पदार्थ को खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आईतबार) बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट कार्यालय समय हेरफेर गरिएको हो।
हिजो आईतबार बसेको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुनेछ भने आगामी शनिबार र आईतबार दुई दिन बिदा हुनेछ।
मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले हिजो नै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आईतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख छ।
