सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरण सम्बन्धी स्वचालित प्रणाली कार्यान्वयनमा आएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयले तयार पारेको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गर्नुभएको हो। यस प्रणाली मार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले अब घरमै बसेर आफ्नो निवृत्ति भरण सम्बन्धी सेवा लिन सक्ने भएका छन्।
सेवाग्राहीले निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइटमार्फत उपलब्ध सेवा प्रयोग गर्न सक्ने जनाइएको छ। यो प्रणाली अन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्तिभरण सम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन्।
सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा प्रणालीमै उपलब्ध भिडियो मार्गदर्शन हेर्न सकिने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। यसअघि सेवा निवृत्त कर्मचारीहरूले प्रत्येक वर्ष आफूले निवृत्तिभरण लिइरहेको पुष्टि गर्न बैंकमा उपस्थित हुनैपर्ने बाध्यता थियो।
त्यसैगरी, निवृत्तिभरण खाता खोल्न वा बैंक छनोट गर्न निवृत्तिभरण व्यवस्थापन कार्यालय धाउनुपर्ने अवस्था समेत हटेको छ। अब सेवाग्राहीले आफूलाई पायक पर्ने बैंक छानेर सेवा लिन सक्नेछन्। अर्थमन्त्री वाग्लेले प्रणाली शुभारम्भ गर्दै झण्डै साढे ३ लाख निवृत्तिभरण लिने सेवाग्राहीको झन्झट अन्त्य भएको बताउनुभयो।
अहिलेसम्म निवृत्तिभरण व्यवस्थापनमा झण्डै ३ लाख ५२ हजार ८१६ सेवाग्राही आबद्ध छन्, जसमा निष्क्रिय सेवाग्राहीसमेत समावेश छन्। प्रणाली कार्यान्वयनपछि वार्षिक रूपमा बैंकलाई तिर्नुपर्ने। झण्डै १५ करोड रुपैयाँ बराबरको कमिसन भार घट्ने, नगद प्रवाह अनुमानयोग्य हुने र सरकारी ढुकुटीमा पर्ने चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
