प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन्।
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएका भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो। पोखरेल जिल्लावासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेका थिए।
विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका छन्। ‘मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान र भावनामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्दछु,’ उनले उल्लेख गरेका छन्।
पोखरेलले आफू जनताको सेवकका रूपमा सदैव जिम्मेवार र मर्यादित रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ संयमित र संवादमुखी भएर काम गर्ने बताएका छन्।
