नेपालमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले राहत तथा उद्धारका लागि १० टन राहत र औषधिजन्य सामग्री पठाएको छ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाललाई १० टन ‘मानवीय सहायता तथा विपद् राहत’ (एचएडीआर) सामग्री र अत्यावश्यक औषधि पठाइएको जानकारी दिएका हुन्।
उनले बाढीमा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।
‘नेपालमा भएको विनाशकारी बाढीको सामना गर्न १० टन एचएडीआर सहायता र अत्यावश्यक औषधि पठाएका छौँ,’ जयशंकरले लेखेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता भएको छ भने सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् र खानेपानीका संरचनामा समेत क्षति पुगेको छ।

