काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्ने कार्यसूचि रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१।०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको समेत जवाफ दिने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने समेत सम्भावित कार्यसूची रहेको जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची पनि रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनुका साथै अन्य प्रस्तावहरु माथि छलफल हुने कार्यसुचि रहेको छ ।
