काठमाडौँ । भारतमा १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि सुरु भएको छ । (आईपीएल) क्रिकेटको उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले विजयीको सुरुवात गरेको हो ।

उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।

चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हराएको छ । एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।  चेन्नईको जितमा ओपनर रुतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यसैगरी अजिङ्क्य रहाणेले २७, ड्याल मिचेलले २२ रन जोडे भने शिवम दुवे ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित योगदान दिए । बैंग्लुरुका क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिएका थिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । क्यामरुन ग्रीनले भने १८ रन जोडे । बैंग्लोरका लागी सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा  दिनेश कार्तिक २८ रनमा अविजित रहेका थिए । 

जारी आइपिएल प्रतियोगितामा आज दुई वटा खेल हुँनेछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्दैछन् ।