बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले होली पर्वका दिन मेला सञ्चालनमा रोक लगाएको छ । विशेष सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालन भइरहेको मेला होलीको दिन सञ्चालन गर्न रोक लगाइएको बाँके प्रशासनले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेसमेतको आयोजनामा चैत ६ गतेदेखि १८ गतेसम्म नेपालगन्ज वाटरपार्क परिसरमा मेला सञ्चालन भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको अनुमतिमा १२ दिनसम्म सञ्चालन भैरहेकोमा होली पर्व पर्न गएकोले पर्वको दिन चैत १२ गते सोमबार मेला सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रङ्गहरूको पर्व होलीलाई सभ्य, भव्य, शान्त, सुरक्षित, मर्यादित र सद्भावपूर्ण वातावरणमा सुसम्पन्न गर्न सहयोग पुगोस् भन्ने हेतुका साथ उक्त दिन मेला बन्द गर्ने निर्णय जिल्ला सुरक्षा समितिबाट भएको हो ।