काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडिमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैंङ्कका एक कर्मचारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ स्थित नेपाल–भारत सीमा जमुनाबाट बैङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत आठविसकोट नगरपालिका-११ निवासी ३१ वर्षीय नीरज विक्रम शाहलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका शाह माथि भूकम्प पीडितसहित दर्जनौँ सेवाग्राहीको करोडौँ रकम अपचलन गरेर हिनामिना गरेको आरोप रहेको छ ।
प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहीबार शाहलाई पक्राउ गरेको थियो । बैङ्कमा कार्यरत रहँदा शाहले बैङ्कको खाताबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको आरोपमा प्रभु बैङ्कका कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले मुद्दा दर्ता गरेका थिए। आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरूको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैङ्कमा पठाइएको थियो । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको भन्दै बैङ्किङ कसुरको मुद्दा दायर गरेका हुन् ।
अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन समेत सुरु गरेको हो । झुट्टा विवरण र खातावालाको जानकारी बिनै बैङ्कमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त रहस्य खुलेको हो ।
शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
