कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप वडा नम्बर ४ स्थित सल्लाघारीमा सडकबाट करिब दुई सय मिटर तल खसेको हो।
दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ पामे बस्ने ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
दुर्घटनाको खबर पाएसँगै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको कमान्डमा पुगेको प्रहरी टोली, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । रेग्मीका अनुसार घाइते पाँचजनाको मणिपालमा र पाँचजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार ल्याइएको छ । अन्य थप विवरण आउन बाँकी रहेको बताएका छन् ।
