काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित दर्ता गरेको छ । दुई खेलमा लगातार हार ब्यहोरेको दिल्लीको यो पहिलो जित हो । विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईले  निर्धारित २० ओभरमा ६ विकेट गुमाएर  १ सय ७१ रन मात्र जोड्न सक्यो ।

चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए । डार्यल मिचेलले ३४ रन, रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्कासहित अविजित ३७ रन बनाए । दिल्लीका लागि खलिल अहमदले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का गरि ५२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।कप्तान ऋषव पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

शुरुका दुवै खेलमा शानदार जित हासिल गरको चेन्नईले भने तेस्रो खेलमा हार ब्यहोरेको छ । ३ खेलबाट ४ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा दोस्रो स्थानमा छ भने दिल्लीको ३ खेलमा २ अङ्कसहित दिल्ली सातौँ स्थानमा सीमित छ । अब आइपिएलमा मुम्बईले मात्र जित दर्ता गर्न बाँकी छ । सोमबार मुम्बई र राजस्थान खेल्नेछन् ।