काठमाडौँ । वैशाख १५ गते प्रदेश सभाअन्तर्गत बझाङ १ (क) मा हुने उपचुनावका लागि १२ जनाको उम्मेदवारी दर्ता भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार बेलुकी ५ बजेसम्म विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरू नै बझाङमा एक-अर्काविरुद्ध निर्वाचनमा होमिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो उम्मेदवारी दिएका छन् ।
केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरू नै बझाङ १ (क) मा एक-अर्काविरुद्ध निर्वाचनमा होमिएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय बझाङकाअनुसार उपचुनावका लागि नेकपा एमालेका दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेक सिंह र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसअघि नै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, नेकपा (माओवादी केन्द्र)का जनक बुढा, राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी परेको छ ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङको कार्यसूचीअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।
चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले चैत २७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने छ । बझाङ १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने छन् ।
