काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम-२ मा विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयअनुसार आज उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा इलामका ४ जना छन् ।

स्वतन्त्र उम्मेदवारहरु तर्फ इलाम नगरपालिका ११ का केशवकुमार चापागाई, इलाम नगरपालिका-७ का डाकप्रसाद गौतम, फाकफोकथुम गाउँपालिका- १ का दिपेश बोहरा र फाकफोकथुम-३ इलामका डकेन्द्रसिं लिम्बु (थेगिम) रहेका छन् । अछामका अर्जुनबहादुर शाही, बिर्तामोड झापाका मनोज निरौला, अर्जुनधारा झापाका योगेन्द्र गुरुङ, पोखरा कास्कीका राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिन सर्लाहीबाट आएका उमेश दहालका लागी भने प्रस्तावक र समर्थक नपाएका कारण मनोनयन दर्ता भएन ।

त्यस्तै राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध भोलि बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ । भोलि नै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र तोकिएका छन् ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा चुनाव हुन लागेको हो ।