काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)लाई छ विकेटले हराएको छ । राजस्थान रोयल्सका ओपनर जस बटलरको शतकीय प्रहारमा रोयल च्यालेन्जर्स बेंग्लुलोरमाथि सानदार जित हात पारेको हो ।

बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर पाँच बल बाँकी छँदा भेट्टायो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । पछिल्लो समय खराब लयमा रहेका बटलर यो खेलको सतकीय प्रहारले उनलाई राहत दिनेछ । कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका लागी रिस टोप्ली दुई विकेट, यश दयाल र मोहम्मद शिराजले समान एक/एक विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि पर्याप्त भएन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए । राजस्थानका लागी युजभेन्द्र चहलले दुई र नान्द्रे बर्गरले एक विकेट लिए ।

जितपछि राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु आठौँ स्थानमा छ । आईपिएलमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाएन्ट्स र गुजरात टाईटन्स खेल्दैछन् ।
