काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी सैनिक मञ्च टुँडिखेलमा मनाइएकाे छ। यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ । धेरै वर्ष पहिले टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र उक्त राक्षसको आत्मालाइ घोडाको टापले कुल्चाएर संहार गरेपछि वर्षभर बालबालिकालाई गुरुमापा राक्षसबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे  सहभागी थिए । सेनाले अश्वकलासम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो । घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।