लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मतको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका हुन् ।
शुक्रबार प्रदेशसभामा कायम रहेको ८६ सदस्यमध्ये मुख्यमन्त्री महराले संविधानको १८८ को उपधारा १ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका छन् भने उनको विपक्षमा २८ जनाले मतदान गरेका थिए । प्रदेशसभामा ३/३ सांसद रहेका राप्रपा र लोसपा भने अनुपस्थित रहे ।
उनलाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र) का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टी (जसपा) का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र स्वतन्त्र सांसद खड्क बस्नेतले मत दिएका हुन्।
उनी चैत्र २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए । नयाँ गठबन्धन बनेपछि कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
