काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो ।
लखनउले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ४ विकेटमात्रै गुमाएर ११ बल बाँकी छँदै पार गर्यो। दिल्लीका जेक फ्रासर मिकगुर्कले ३५ बलमा २ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ५५ रन बनाए। त्यस्तै कप्तान रिशब पन्तले २४ बलमा ४ चौकार २ छक्का प्रहार गरी ४१ रन जोडे। पृथ्वी शले ३२, ट्रिस्टन स्टुब्सले १५ र शाइ होपले ११ रनको योगदान गरे। लखनउका रवि बिस्नोईले २ विकेट तथा नवीन उल हक र यश ठाकुरले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । लखनउका लागि आयुश बदोनीले ५५ र अर्शद खान २० रन बनाएर नट आउट रहे। त्यस्तै कप्तान केएल राहुलले ३९ रन, अर्का ओपनर क्वीन्टन डिककले १९ रन जोडेका थिए। अन्य ब्याटरहरू सस्तोमै आउट भए। दिल्लीका कुलदीप यादवले ३ र खलिल अहमदले २ विकेट लिए भने इशान्त शर्मा र मुकेश कुमारले १/१ विकेट लिए।

लखनउ ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै ६ खेलमा ४ अङ्कसहित दिल्ली पुछारबाट दोस्रो स्थानमा रहेको छ । ६ खेलमा २ अङ्क मात्रै रहेको आरसीबी पुछारमा छ । ५ खेलमा ८ अङ्क रहेको राजस्थान रोयल्स शीर्ष स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्स र राजस्थान रोयल्स् खेल्दैछन् । पञ्जाब र राजस्थानको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
