काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्ममा (नौ महिनामा) वीरगञ्ज भन्सार कार्यालयले रु १ खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ । भन्सार विभागले नौ महिनाका लागि रु १ खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेकोमा कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको हो ।
गत आवको तुलनामा चालु आवको कारोबारमा केही सुधार देखिए भएतापनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन अझै नसकेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले बताएका छन् । उनले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताए ।
विश्वमा आर्थिक मन्दीको प्रभाव परिरहेका कारण पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको उनको भनाई थियो । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले पनि राजस्व सङ्कलनलाई प्रभावित गरेको बताए ।
