काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ ।
आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै बैठकको शुभारम्भ गरेका हुन् । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताएका छन् ।
उनले जनताको समस्या समाधानका लागि सरकारले थालेका कार्य सकारात्मक भएको उल्लेख गरे । उनले भने, “जनतामा रहेको निराशा चिर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउन र सुशासन दिन सक्नुपर्छ । ”
उनले हतारोमा वाम ध्रुवीकरण वा प्रतिपक्षीलाई निषेध नभई संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताए ।
त्यस्तै नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई उनले आग्रह समेत गरे । समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुन आवश्यक रहेको उनको भनाई रहेको थियो ।
बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।
