काठमाडौँ । स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङ्घमले इञ्ज्युरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो ।
प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । लुकास भाज्क्वेजलाई डिबक्सभित्र फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेल फर्मिन लोपेजले ६९औं मिनेटमा गोल गरेपछि बार्सिलोनालाई दोस्रो पटक अग्रता लियो । तर, अग्रता भने लामो समय टिक्न सकेन । लुकास भाज्क्वेजले ७३औं मिनेटमा गोल गरेसँगै खेललाई २-२ को बराबरीमा पुराए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई घरेलु मैदान सान्टियागो बर्नाबाउमा जित दिलाए । जितसँगै ३२ खेल खेलेको रियलले ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । समान खेलमा बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।
