काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । बुधबार भएको खेलमा २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

गुजरातका साइ सुदर्शनले ३९ बलमा ७ चौका र २ चौकामा ६५  रन बनाए । यस्तै डेभिड मिलरले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे । ओपनर ऋदिमन शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । ४३ बल खलेका कप्तान ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन बनाए । अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन जोडे। उनलाई ट्रिस्टन स्टुब्सले नटआउट २६ रन जोडे । ओपनर पृथ्वी शाहले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे । गुजरातका सन्दीप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट र नुर अहमदले १ विकेट लिए ।

जारी आइपीएलमा समान ९ खेलमा ८ अंक जोडेका दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा बिहीबार सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।