काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको छ ।

मुम्बईको वानखेडेमा गएराति भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १४५ रनमा समेटिएको हो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा सर्वाधिक ५६ रन बनाए । टिम डेबिडले २४ रन बनाउँदा कप्तान हार्दिक पाण्डे तीन बल खेल्दै १ रनमा आउट भए। इशन किसन १३, रोहित शर्मा ११, नमन धिर ११, नेहल वढेरा ६ रनमा आउट हुँदा तिलक बर्माले ४ रन मात्र जोडे। मुम्बई ७ बल बाँकी हुँदै १४५ रनमा अलआउट भएको हो। कोलकाताका मिचेल स्टार्कले ४ तथा वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको कोलकाताले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६९ रन बनाएको थियो । कोलकाताका वेंकटेश अय्यरले ५२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७० रन बनाए । मनिष पाण्डेले ४३ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । मुम्बईका लागी नुवान तुषारा र जसप्रित बुमराहले तीनतीन विकेट हात पारे भने कप्तान हार्दिक पाण्डेयले दुई विकेट र पियुष चावलाले एक विकेट लिन सफल भए ।
जितसँगै कोलकाता १० खेलमा १४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ । मुम्बई ११ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाईटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।
