काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे शुरु हुनेछ । अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग नेपाल अन्तिम खेल खेल्दैछ ।

सुरुआती चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो । बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गर्दै यसअघि नै पाँच खेलको सिरिज जितिसकेको छ । गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इण्डिज ‘ए’सँग २८ रनले पराजित भयो ।

यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन । विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ । उता नेपाल भ्रमणमा आएका ओपनर जोनसन चाल्र्स, स्पिन अलराउण्डर गुणाकेश मोती र रोश्टन चेश वेष्टइण्डिजको टी–२० विश्वकप टोलीमा परेका छन् ।

आगामी २ जुनदेखि सुरु हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै बिदाइ गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।