काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाइ १० विकेटले हराएको छ ।

राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो । हैदरावादको ऐतिहासिक जितका लागि ओपनर टेभिस हेड र अभिषेक शर्माले १६७ रनको ऐतिहासिक साझेदारी गरे। हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए। उनले मात्र १६ बलमा अर्धशतक पूरा गरे भने २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाएका अभिषेक शर्माले १९ बलमा अर्धशतक बनाएका हुन् । लखनउका कुनै पनि बलरले विकेट हात पार्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले नटआउट सर्वाधिक ५५ रन बनाएका थिए । कप्तान केएल राहुल २९ र क्रुनाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पुरन ४५ रनमा अविजित रहे। हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट हात पार्दा प्याट कमिन्सले एक विकेट लिए।

हैदरावाद १२ खेलबाट १४ अङ्क जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा १२ अङ्कका साथ लखनउ छैटौँ स्थानमा छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *