काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।

वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित १६ ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । त्यस्तै नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले दुई/दुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एक/एक विकेट लिए ।

एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किसनले २२ बलमा सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन बनाए । त्यस्तै रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे । कोलकत्ताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई विकेट लिँदा सुनिल नरिनले एक विकेट लिए ।

जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अङ्क छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अङ्क मात्रै छ । मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *