काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो ।
गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यो नतिजा सँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातको शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने सम्भावना नरहेपछि लगातार दुई सिजन फाइनलमा पुगेको टोली यसपटक भने प्लेअफ सम्म पनि पुग्न असफल रह्यो ।
गुजरातको १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अंक जोडेको थियो । उता कोलकत्ता भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अंक भएको कोलकत्ता शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि भिड्ने छ ।
आईपिएलमा मंगलवार हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ । दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ ।
