काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो।

दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले २७ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रन बनाए । यस्तै तल्लोक्रमका ब्याटर अर्षद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे । दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा सर्वाधिक ५८ रन बनाए भने स्टब्सले २५ बलमा ५७ रन जोडे । साई होपले ३८ तय ऋषभ पन्तले ३३ रन बनाए । लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १-१ विकेट लिए ।

यो जित सँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्लीले १४ खेलमा १४ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ ।

दिल्लीको प्लेअफ पुग्ने सम्भावना आधिकारिक रूपमा समाप्त नभएपनि सम्भावना न्यून रहेको छ । लखनऊले पनि प्लेअफमा पुग्नका लागि अन्तिम खेलमा ठूलो अन्तरको जित हासिल गर्दै अन्य नतिजामा भर पर्नु पर्ने हुन्छ ।

आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स् खेल्दैछन् ।