काठमाडाैँ । हप्ताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले वृद्धि भएको छ । आज शेयर बजार परिसूचक नेप्से ४५ दशमलव ६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा कायम भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो समीक्षामा कर्जा प्रवाह विस्तारमा केही लचिलो हुने नीति लिएपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । गएको शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पुगिसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि एक प्रतिशतमात्र बिक्री गर्न पाउने व्यवस्था थियो ।

आज तीन सय २३ कम्पनीको एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयर ७४ हजार नौ सय ९१ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २५ करोड १० लाख २५ हजार बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्राेपावर कम्पनीकाे १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेकाे छ ।