मधेश प्रदेशको सरकारले विश्वासको मत लिनुभन्दा पहिला नै नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारीमा रहँदै गर्दा आज नेकपा (एस) ले उनको साथ छोडि सरकारबाट बाहिरिने निर्णय गरेको हो।

मुख्यमन्त्री यादवलाई नेकपा (एस)का दुई मन्त्री भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेंची लुङेलीले आज राजीनामा पत्र बुझाएका हुन्।

मधेस प्रदेशमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए। यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ बताइएको छ। 

सत्तारुढ गठबन्धनले नयाँ सरकार बनाउने भएपछि आफूहरूले राजीनामा दिएको न्यापौनेले बताएका छन् ।

प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका एक/एक सांसद रहेका छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ।