काठमाडौँ । आइतबार राति भएको आईसिसी टी–२० विश्वकप खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग हारेको थियो ।
गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय १३ रन मात्र बनाउन सक्यो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा एक चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३१ रन बनाए । त्यस्तै बाबर आजम, फकर जमान, उसवान खानले समान १३ रन जोडे । सादव खान चार रनमा आउट हुँदा इफ्तिखार अहमदले पाँच रन मात्र जोड्न सके । भारतका लागि जसप्रित बुमराहले चार ओभर बलिङ गर्दा १४ रन खर्चिएर तीन विकेट लिए । त्यस्तै हार्दिक पाण्डेयाले २ विकेट र अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले ३१ बलको सामना गर्दै सात चौका मद्दतमा सर्वाधिक ४२ रन बनाए । त्यस्तै ओपनिङमा ब्याट्सम्यानका रुपमा आएका विराट कोहलीले केबल ४ रनमा बनाए भने रोहितले पनि १३ रन मात्रै जोड्न सके । अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए । त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए । पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले समान तीन विकेट, मोहम्मद अमिरले दुई विकेट र साहीनशाह अफ्रिदिले एक विकेट लिए ।
यो जितपछि भारतको २ खेलमा ४ अङ्क सहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । भने लगातार दुई खेल हारेको पाकिस्तान चौथो स्थानमा छ । यो समूहको दोस्रो स्थानमा अमेरिका, तेस्रो क्यानडा र पाँचौंमा आयरल्याण्ड छन् ।
