नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेश सभा सदस्य संख्या व्यापक रुपमा कटौती गर्नुपर्ने बताएका छन् । कांग्रेस नागार्जुन नगर कार्यसमितिले शनिबार आयोजना गरेको एक प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौँ भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको संख्या घटाउनुपर्ने बताए ।

खर्च कटौती गरी संसद् र सरकार चलाउन आवश्यक रहेको र देशमा उपलब्ध स्रोत र साधनले हालका संघीय संसद् र प्रदेश सभाका सदस्यलाई थेग्न नसक्ने भएकाले मौजुदा दुबै तहका सांसदको संख्यामा व्यापक कटौती गर्नुपर्ने उनको भनाइ थियो।त्यस्तै, महामन्त्री थापाले संघ र प्रदेशमा मन्त्रीको संख्या पनि घटाउनुपर्ने बताए । उनले संघीय सरकारमा १० देखि १२ जना मात्र मन्त्री र प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने उनको जिकिर थियो।

उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौँ ? संशोधन गरौँ । त्यो गर्न एमालेसँग सल्लाह गरौँ ।’