काठमाडौँ । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए ।नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए। भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडे ।ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए । अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले तीनतीन विकेट तथा नभिन उल हकले १ विकेट हात पारे।
भारतले आफ्नो सुपर एट चरणको दोस्रो खेलमा शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले सोही दिन अष्ट्रेलियाको सामना गर्नेछ । समूह १ मा भारत, अफगानिस्तानसँगै अस्ट्रेलिया र बंगलादेश छन्।

