माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले निर्णय गरेसँगै राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २३ साउनदेखि ३१ साउनसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो पूरक परीक्षामा एसईईको नतिजामा एनजी (ननग्रेडेड) आएका विद्यार्थीहरूले ग्रेड वृद्धिका लागि सहभागी हुन पाउनेछन् । यसअघि बढीमा दुईवटा विषयमा एनजी आएका विद्यार्थीलाई मात्र सहभागी गराउने भनिएको थियो । तर, पछि एनजी आएका सबै विद्यार्थीले पूरक परीक्षा दिन पाउने निर्णय भएको छ ।

साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयले साउन १८ र १९ गते परीक्षा लिने सूचना जारी गरेको थियो ।

बोर्डका अनुसार पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । यस वर्षको एसईईमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण सबै दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् ।