काठमाडौं । स्मार्टफोन कम्पनी मोटोरोलाले नाडीमा बेरेर लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा सोमबारदेखि सुरु भएको मोबाइल वर्ल्ड कङ्ग्रेस २०२४ मा मोटोरोलाले घडी जस्तै नाडीमा लगाउन मिल्ने मोबाइल सार्वजनिक गरेको हो ।

कम्पनीले गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारेमा जानकारी बाहिर ल्याएको थियो । जुन ‘एडप्टिभ डिस्प्ले’ प्रविधिमा आधारित रहेको छ । यो फोनको वास्तविक रूपमा हालै मात्र देखिन आएको हो । मोटोरोलाले सार्वजनिक गरेको यो फोन घडी जस्तै नाडीमा लगाउन मिल्छ । 

फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिंडडुल गर्न सकिने बताइएको छ । त्यसो गर्दा फोन अङ्ग्रेजी अक्षर ‘यू’ आकारमा बङ्गिएर नाडीमा अडिने गर्छ । 

यसका लागि फोनको ‘बडी’ नरम बनाइएको छ । फोनलाई नाडीमा बेर्नु पर्ने भएकाले त्यसो गरिएको अनुमान छ । फोनमा ६.९ इन्चको फुल एचडीको डिस्प्ले राखिएको छ । जुन प्लास्टिकमा आधारित पीओलेड डिस्प्ले हो ।

फोन हातमा बेरिएको समयमा केही तन्किएको जस्तो देखिन्छ । तर अरू समयमा भने सामान्य स्मार्टफोन जस्तै छ । यसबाहेक फोनलाई बङ्ग्याएर दुई ओटा स्क्रिन बनाउन सकिन्छ । त्यसमा दुई तिर बसेर काम समेत गर्न सकिने बताइएको छ । यद्यपि अझै पनि फोन तथा प्रविधिबारे कम्पनीले विस्तृत जानकारी भने बताएको छैन ।

मोटोरोला र यसको मातृ कम्पनी लेनोभो अचम्म अचम्मको हार्डवेयर सार्वजनिक गर्न परिचित छन् । जुन कतिपय अवस्थामा वास्तविक उत्पादन पनि हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *