मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आजको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो ।

सेन्सेटिभ इण्डेक्स १२.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको १ लाख १९ हजार ११ पटकको कारोबारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ऋणपत्र र म्युचुअल फण्डहरुको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने अपि पावरको करिब १८ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशत र होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *