बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बस बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस बाँकेको गनापुरमा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ। प्रहरीका अनुसार घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको छ।
चालकले पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटनामा परेको बयान प्रहरीलाई दिएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई समेत ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ । बसले ठक्कर दिएको भनिएको मोटरसाइकल र चालकबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
