प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री ओली कतार एयरलाइन्सबाट संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एबम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरेका छन्।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी हुनेछन्।

प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री असोज १४ गते नेपाल फर्कने तालिका छ।

