तराई-मधेसमा केही जिल्लामा आज जितिया पर्व मनाइँदैछ। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म मनाईने जितिया पर्व महिलाहरुको लागि निकै महत्वपूर्ण पर्व हो ।
तराई-मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन्।पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ।
निराहार व्रत शुरु गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ। मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ।
वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही-च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ।
जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विशिष्ठ व्यक्तिहरुले असल संस्कार, व्यवहार र सामाजिक एकताको पृष्ठपोषण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।
