महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कोष तथा लेखा नियन्त्रक कार्यालयहरूद्वारा लेखापाल पदको माग सम्बन्धी आकृति फाराममा सहमति दिन अस्वीकार गरेको छ।
महालेखाले निजामती सेवा नियमावली, २०५० को नियम १३ को उपनियम ३ अनुसार, फाजिलमा रहेका सम्बन्धित सेवा, समूह वा उपसमूहका निजामती कर्मचारीलाई रिक्त पदमा मिलान गर्नुपर्ने भन्दै यस्तो निर्णय गरेको हो।
कार्यालयले संघीय मन्त्रालय अन्तर्गत रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई माग विवरण नपठाउन परिपत्र गरेसँगै नियमित तालिका अनुसार यस बर्ष हुने प्रशासन सेवा,लेखा समूह तर्फ लेखापाल पदको विज्ञापन अनिश्चित बनेको छ।
चालू आर्थिक वर्षमा लेखापाल पदमा कुल दरबन्दी संख्या भन्दा २९ जना बढी रहेको तथ्यांक देखिएकाले, यस वर्ष कुनै पनि कोष तथा लेखा नियन्त्रक कार्यालयलाई लोक सेवा आयोगमा माग आकृति फाराम भरी पठाउन सहमति दिन नसकिने निर्णय गरिएको छ।
”लेखा सेवा, समूह वा उपसमूहका निजामती कर्मचारीलाई रिक्त पदमा मिलान गरेर मात्र बाँकी पदमा पदपूर्तिको लागि माग गर्नुपर्ने प्रावधान रहेकोमा सङ्घीय कार्यालयहरुमा रहेको कूल दरबन्दी संख्या भन्दा चालू आर्थिक वर्ष ०८१/८२ मा २९ जना लेखापालहरुको सङ्ख्या बढी देखिएकोले चालू आर्थिक वर्षमा कुनै पनि कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई लोक सेवा आयोगमा माग आकृति फाराम भरी पठाउन सहमति दिन नसकिने हुँदा सोही बमोजिमको व्यहोरा यस कार्यालयको मिति २०८१/०९/१६ को निर्णयानुसार जानकारीको लागि अनुरोध छ” परिपत्रमा भनिएको छ।
महालेखाले यस्तो परिपत्र जारी गरेसँगै लेखापाल पद व्यवस्थापनमा विद्यमान समस्या समाधान गर्नका लागि एक ठोस कदम भएको बताइरहेका छन् भने कतिपयले अवसरको मुखमा रहेका कर्मचारीलाई मर्का पर्ने जनाई रहेका छन्।

