हरेक वर्ष जनै पूर्णिमा एवम् रक्षा बन्धनका दिन विशेष खाने कुरामा पर्दछ, क्वाँटी। अन्य पर्वहरूका आफ्नै विशेष परिकार भएजस्तै क्वाँटी पनि रक्षाबन्धन विशेष परिकार हो। जुन स्वास्थ्यको हिसाबले पनि निकै उपयोगी र महत्वपूर्ण मानिन्छ।

परापूर्वकालदेखि नै जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन रहेको बताइन्छ। ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाँति’ शब्दबाट बनेको भन्ने पनि भनाइ रहेको छ। जस अनुसार ‘क्वाँ’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप भएकाले यसलाई समास गरी ‘क्वाँटी’ भनिएको हो। यसकारण क्वाँटीको अर्थ गेडागुडीको ‘तातो सुप’ बुझ्न सकिन्छ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका थरीथरीका गेडागुडीलाई टुसा उम्रने सफा पानीमा भिजाउने चलन छ। करिब चार दिन भिजाएर टुसा उम्रेपछि आजको दिन(रक्षाबन्धन एवम् जनैपूर्णिमा) विशेष तरिकाले पकाउने गरिन्छ।

यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ। परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ११ थरीका गेडागुडी मिश्रण गरिन्छ। यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधि छ। यसरी पूर्णिमाको दिन खाने विशेष परिकारले स्वस्थको लागि पनि उपयुक्त रहेको बताइन्छ।

यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने डाक्टरहरु बताउँछन्।