साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा हिजो बङ्गलादेशसँग पराजित भएको छ।

भूटानको थिम्पुमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे।

दुई पटकको विजेता बंलादेशले पहिलो हाफको ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले र ४५ औं मिनेटमा सौरवी अकान्डा प्रीतिको गोलमा बंलादेशले पहिलो हाफमा २-० को अग्रता लिएर नेपाललाई दबाबमा राख्यो।

नेपाल दोस्रो हाफमा खेलमा फर्कन सकेन। निर्धारित ९० मिनेटमा बंलादेशले पनि थप गोल गर्न सकेन। तर इन्ज्युरी समयमा रेहाको गोसँगै बंगलादेशले ३-० को जित दर्ज गर्यो।

यो हारसँगै नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ। समान खेलमा छ अङ्कसहित बङ्गलादेश दोश्रो स्थानमा छ। भारत नौ अङ्कसहित शीर्ष स्थानमा छ।

यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो। यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले पर्सि बुधवार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतवार भूटानसँग खेल्ने छ।