राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्।

ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने शर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए।

सुरक्षाको प्रत्याभूति दिन नसकिने भन्दै प्रशासन पन्छिएपछि लामिछानेलाई उनको परिवारको जिम्मा लगाइएको हो।

लामिछानेलाई उनकी पत्नी निकिता पौडेलले जिम्मा लिएकी छन्। रिहाको खबर बाहिरिएसँगै नख्खु कारागारको गेटमा लामिछानेका सयौं समर्थकको भीड लागेको थियो।

सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए।