नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएकाे छ। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो।
पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा उहाँले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो।
मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जेन–जी आन्दाेलनमा ज्यान गुमाएका शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो,“अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।”
मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याउनुभयो। उहाँले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गर्नुभयो।
“छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ। कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु”, मन्त्री सिन्हाले भन्नुभयो,“जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ।”
मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसक्नुभएको छ।
