आइसिसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।
सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल क्लासिकोको संज्ञा दिएको छ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। युएईविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।
युएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो। समूह ‘ए’मा युएईले कतारलाई सात विकेटले हराएको थियो। युएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।
सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्नेछ। नेपाल र यूएईले सुपर सिक्समा दुई अंक जोडेका छन्। सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ। बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ।
