नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुष ५ गते देखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ।
आज सार्वजनिक गरेको तालिका अनुसार लुम्बिनी लायन्सले बाँके र बर्दियाबाट पुष ५ गते सुरु हुने टुर पुष १५ गते रुपन्देहीमा आएर पूरा हुनेछ।
तालिकाअनुसार पुष ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। पुष ६ गते दाङको तुल्सिपुर-घोराहीमा टुर आयोजना हुनेछ।
पुष ७ गते रुकुमको रुकुमकोट-खलंगासम्म, पुष ८ गते रोल्पाको लिवाङ-सुलिचौरसम्म, पुष ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुष १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ।
साथै पुष ११ गते कपिलवस्तुको चन्द्रौटा-कृष्णनगर-तौलिहवा-गोरुसिंगेसम्म, पुष १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुष १३ गते गुल्मीको तम्घासमा, पुष १४ गते पाल्पाको तानसेन बजार, पुष १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुष १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिने छ।
लुम्बिनी लायन्सका अनुसार पुष १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ।
एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो। लुम्बिनीले त्यसअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।
