युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरेको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्को बोर्डमा रिक्त रहेका पदमा पाँच जनालाई नियुक्त गर्नुभएको मन्त्रीका स्वकीयसचिव विनोद रिमालले जनाकारी दिए।
परिषद्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटा, रग्बी सङ्घका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो सङ्घको तर्फबाट कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासङ्घको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरिएको हो। चार वर्षका लागि नियुक्त गरिएका सदस्यहरूको आजै शपथ ग्रहण गरिएको छ।
राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गएको महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए।
