पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्। भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज बिहान ११ बजे जान लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुष ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियालाई निरन्तरता दिँदै उनी सोमबार आयोगको टोलीसमक्ष आफूसँग भएको जानकारी र सो घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जान लागेको उनको सचिवालयले पुष्टि गरेको छ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्। पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान र भदौको घटनासँग जोडिएका विविध पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ।
