नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वमा बन्दसूची बुझाएको हो।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूचीको अन्तिम रूप दिई नयाँ पुस्ता, पुरानो पुस्ता तथा समावेशी समूहलाई समेटेर तयार गरेको जनाएको छ। बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छ भने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ। साथै अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ। त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *