काठमाण्डाै –  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको हो ।

आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ उहाँले भन्नुभयो । बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ ।’ त्यसका लागि नयाँ गठबन्धनको बैठक बसिरहेको उनको भनाइ छ ।

मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो बेलुकी एमाले, रास्वपा र राजपाका शीर्ष नेताहरुसँग भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने सङ्केत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए । प्रचण्डले नयाँ समीकरण बनाउन खोजेको थाहा पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेर गर्न तयार हुनुका साथै आज बिहान गठबन्धनको बैठक पनि बोलाइएको थियो । तर गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण अगाडि बढाउनुभएको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *