आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अगाडि बढाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखन समिति गठन गरेका छन्। मन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन्।
सहसचिव खत्री मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख हुन्। समितिका सदस्यहरूमा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख रहेका सहसचिवहरूलाई जिम्मेवारी दिइएको छ:
–डा. सुमन दाहाल: प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा
-डा. धनीराम शर्मा: प्रमुख, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा
-महेश भट्टराई: प्रमुख, आर्थिक नीति विश्लेषण महाशाखा
-सेवन्तक पोखरेल: प्रमुख, वित्तीय सङ्घीयता समन्वय महाशाखा
गठित समितिले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता) को मस्यौदा तथा बजेट वक्तव्यको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ। समितिले तयार पारेको उक्त मस्यौदालाई अर्थमन्त्रीले अन्तिम रूप दिएपछि मन्त्रिपरिषदमार्फत पारित गरिनेछ।
संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले वार्षिक बजेट पेश गर्ने कार्यक्रम छ। सोही समयसीमालाई मध्यनजर गर्दै मन्त्रालयले बजेट निर्माणको गृहकार्यलाई तीव्रता दिएको हो।
